२७ चैत्र २०८१, बिहीबार
नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणलाई सहजीकरण गरेको छ। साथै घरजग्गा ऋणमा पनि लचकता अपनाएको छ। राष्ट्र बैंकले रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिदिएको छ।
५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ दिएको छ। ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्याइदिएको हो। यसले निर्माण क्षेत्र चलायमान बनाउन मद्दत गर्ने छ।
घर कर्जालाई प्रवर्द्धन गर्न बिशेष स्किम ल्याएको छ। शुक्रबार मौद्रिक नीतिको समिक्षा गर्दै २०८० कात्तिकको भुकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ।
२५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरेको हो। राष्ट्र बैंकले बजारको ब्याज दर घटाउने गरी नीतिगत दरहरु संशोधन गरेको छ। राष्ट्र बैंकले बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको छ।
नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकले ब्याज दर घटाउन पहल गरेको हो। अब बैंकहरुले ब्याज थप घटाउने छन्।