सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०८० मंसिर २४ गते, आईतवार १०:३२ मा प्रकाशित

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो।

सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन्। गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन भनिएको थियो।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।