क्रिकेटर लामिछानेको मुद्दा फेरि स्थगित

होमल्याण्ड खबर

२०८० मंसिर २४ गते, आईतवार १५:११ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फेरि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार पेशी तोकिएको मुद्दा लामिछानेका वकिलका तर्फबाट स्थगित गरिएको हो। यो मुद्दामा अहिलेसम्म ३२ पटक पेशी तोकिएको छ भने स्थगितमात्रै आठ पटक भएको छ।

लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगित गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगित गरिएको जनाएको थियो।

आज जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकिएको थियो। एक महिनाअघि कात्तिक २३ मा भएको सुनुवाइमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेश गर्न आदेश दिएको थियो।

यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्रयाक’बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर, एक वर्ष बितिसक्दा पनि टुंगोमा पुगेको छैन।