४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्ता प्रचार प्रतिवाद गर्न पार्टी निकट पत्रकारहरूसँग आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले अतिवादी, अराजकतावादी निकै आतंकित भएकाे भन्दै उनीहरूबाट व्यवस्था,परिवर्तनमाथि निकै प्रहार भएकाे बताए।
‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुनेँ । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । लगत्तै क्याबिनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अतिवादीहरूबाट घटिया रुपमा प्रचार र दुस्प्रचार गरियो । तपाईं कल्पना गर्नोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’
पछिल्लाे समय एनसेलकाे खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र उनकी छाेरी गंगा दाहालकाे नाम जाेडेर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनले असन्तुष्टि जनाएका हुन्।