एनसेलको सेयर बिक्रीविरुद्धकाे रिट न्यायाधीश ढुंगानाको इजलासमा

होमल्याण्ड खबर

२०८० मंसिर २६ गते, मंगलवार ११:५५ मा प्रकाशित

काठमाडाैं। प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ ।

सांसद सिंहले शुक्रबार दायर गरेको रिट निवेदनमा पेसी तोकिएको मंगलबार तेस्रो पटक हो । यसअघि आइतबार र सोमबार पेसी तोकिएर पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा र सोमबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

सांसद सिंहले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नु अस्वभाविक भएको भन्दै आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सांसद सिंहले सेयर बिक्रिमा ठूलो आर्थिक चलखेल भएको जिकिर गरेका छन्।