सातजना उपसचिव बढुवाका लागि सिफारिस, काे-काे परे ? (सुचि सहित)

होमल्याण्ड खबर

२०८० मंसिर २६ गते, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौं । विभिन्न सेवाका सात जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगअन्तर्गत रहेको बढुवा सिफारिस समितिले नेपाल लेखापरीक्षण सेवा, आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल वन सेवा, नेपाल शिक्षा सेवा र नेपाल इन्जिनियरिङ सेवाका सात जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको हो ।

जसमा कार्यक्षमताको आधारमा नेपाल लेखापरीक्षण सेवाका उपसचिव घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय सोही सेवाको सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदमा चार जनाले आवेदन दिएका थिए ।

यस्तै कार्यक्षमताकै आधारमा आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिव महेशकुमार सुवेदी सोही सेवाको सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि पाँच जनाले आवेदन दिएका थिए ।

यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल वन सेवाको जनरल फरेष्ट्री समूहतर्फका उपसचिव धनञ्जय लामिछाने सोही सेवाको सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि पाँच जनाले आवेदन दिएका थिए ।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनकै आधारमा नेपाल शिक्षा सेवाको शिक्षा प्रशासन समूहतर्फ उपसचिव युवराज पौडेल सोही सेवाको सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि ६ जनाले आवेदन दिएका थिए ।

यस्तै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनकै आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइड्रोपावर उपसमूहतर्फका उपसचिव सागरराज गौतम सोही समूहको उपसमूहतर्फ सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उक्त पदका लागि दुई जनाले आवेदन दिएका थिए ।

सहसचिव बढुवाका लागि सिफारिस भएकामाथि चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि कोही कसैको उजुरी नपरेमा सबैलाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।