जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह

होमल्याण्ड खबर

२०८० पुष ३ गते, मंगलवार १२:०४ मा प्रकाशित

जनकपुरधाममा विश्व हिन्दु परिषद्ले २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ। जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिए।

विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष साहले बताए। गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गरी सामूहिक विवाह भएको हो।

यसैबीच जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्वरको आकृति बनाएका भारत उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंम्वर गरेका छन् । उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन्।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ। यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै दाइजोको समस्या घटाउने बेहुली पक्षका आफन्तले बताएका छन्। विवाह गरेकाहरुको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएको थियो ।