४ मंसिर २०८१, मंगलवार
कांग्रेसको गण्डकी प्रदेशको प्रथम सम्मेलनको ब्यानरमा राखिएको वाक्यलाई लिएर सभापति शेरबहादुर देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच भनाभन भएको छ। प्रदेशको सम्मेलनमा ब्यानरमा राखिएको वाक्यलाई लिएर दुई नेताबीच भनाभन भएको हो ।
सम्मेलनमा राखिएको ब्यानरमा ‘ईमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔँ, कांग्रेसी चरित्र पुनःस्थापित गरौँ’ भन्ने नारा राखिएको थियो।
त्यसमा उल्लेख भएको ‘भ्रष्टाचारीबाट पार्टीलाई बचाऔँ’ भन्ने वाक्यका विषयमा दुई नेताबीच भनाभन भएपछि अहिले हरियो टेपले उक्त वाक्य टाँसेर कार्यक्रम सुरु गरिएको छ।
दुई नेतासँगै रहेका कास्कीका एक नेताले दिएको जानकारीअनुसार त्यही वाक्यका विषयमा देउवा र शर्माबीच निकैबेर भनाभन भएको थियो।