मन्त्रीहरू ठोस योजनासहित अघि नबढे ‘बोल्ड स्टेप’ चाल्छु : प्रधानमन्त्री प्रचण्ड

होमल्याण्ड खबर

२०८० पुष ५ गते, बिहीबार १२:२६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ठोस कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएको बताएका छन्। प्रधानमन्त्रीले ठोस योजनासहित अघि नबढे मन्त्रीहरूलाई ‘बोल्ड स्टेप’ चाल्ने बताएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका हुन् ।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सबैलाई मैले ठोस कार्ययोजनासहित एक्सनमा जानु भनेको छु । भएन भने बोल्ड स्टेप चाल्छु भनेको छु ।’

यद्यपि, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा ठोस रूपमा छलफल नभएको उनले बताए ।

सापकोटाले भने, ‘पुस १० गते एक वर्ष पुग्दैछ । ११ गते प्रगति र आगामी योजना प्रधानमन्त्रीले ल्याउनुहुन्छ । सरकारको समीक्षा विभिन्न ढंगबाट भइरहेको छ ।’

प्रधानमन्त्रीले बैठकमा सरकारलाई प्रभावकारी बनाउन अबको नीति तथा कार्यक्रम र बजेटमा पनि आमूल परिवर्तन गर्नुपर्ने सोचेको ब्रिफिङ गरेका छन् । आफूले थालेको भ्रष्टाचारविरोधी अभियानलाई गति दिएर नयाँ फाइल खोल्ने योजना प्रधानमन्त्रीले सुनाएको उनको भनाइ छ ।