३० कार्तिक २०८१, शुक्रबार
नेपाली काँग्रेसको मङ्गलबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ । नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई सङघीय ढाँचामा लैजानका लागि बल्ल विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो । बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्नु हुनेछ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल विद्यार्थी सङ्घको महाधिवेशनका विषयमा बैठक केन्द्रित हुने बताउनुभयो ।
उहाँले आगामी मङ्सिर ५ बाट सुरु हुने तय भएको महासमिति बैठक विविध कारणले केही दिन सार्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘विधान मस्यौदा समितिले दसैं अगाडि नै मस्यौदा तयार गरेको भए सजिलो हुने थियो तर गहन छलफल गर्दागर्दै केही दिन ढिला भएको छ’, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्यलाई विधानको मस्यौदा दिएपछि अध्ययनका लागि पाँच दिनको समय दिने र केन्द्रीय समितिको बैठकमा झण्डै ९० जना नेताले आफ्नो राय सुझाव दिन समय दिनुपर्ने तथा आएका सुझावलाई विधान मस्यौदामा समावेश गर्न पनि समय लाग्ने भएको छ ।
बैठकमा नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको मितिबारे छलफल हुने सम्भावना छ । सङघको दुई वर्षे कार्यकाल सकिएर तीन महिनाको अवधिमा पनि महाधिवेशन हुन नसकेपछि अब के गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने जानकारी प्रवक्ता शर्माले बताउनुभयो ।