जग्गा प्लटिङ कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर

होमल्याण्ड खबर

२०८० पुष ८ गते, आईतवार १५:१६ मा प्रकाशित

धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिबारे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उपमहानगरपालिकाले ल्याएको कार्यविधिविरुद्ध कैलाली जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

उक्त कार्यविधि खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ ।

धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधिमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ ।