भृकुटीमण्डपमा बिहीबारदेखि घरजग्गा मेला लाग्ने

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार ११:१२ मा प्रकाशित

भृकुटीमण्डपमा यही पुस १२ गतेदेखि १५ गतेसम्म आठौं घरजग्गा मेला हुने भएको हो ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आवद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए ।

उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताए ।

अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने उनको भनाइ छ ।

हरेक नागरिकहरुका लागि यो मेला महत्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने उनले बताए ।

यस वर्ष दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको उनले बताए ।

कोरोनाका कारण केही वर्ष यता रोकिएको घरजग्गा मेला सुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ ।

मेलाको डेढ लाख मानिसहरुले अवलोकन गर्ने आयोजकका अपेक्षा छ ।