स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इन्चार्ज पक्राउ

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १२:४५ मा प्रकाशित

स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा मुगुमा थप एक जना पक्राउ परेका छन्। २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरु गाउँपालिका-९ स्थित खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाही पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो।

यसअघि सोरू गाउँपालिका-९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा-६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो। लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले ‘जातीय भेदभाव तथा छुवाछुत कसुरमा’ जाहेरी दिएकी हुन्।