४ मंसिर २०८१, मंगलवार
नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव लिने भएको छ। आजबाट सुरु हुने बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव लिन लागेको हो।
महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने, केन्द्रीय समिति कति सदस्यीय बनाउने लगायतको ११ प्रश्न तयार पारेको छ। नेताहरूको बुझाइको आधारमा आगामी महाधिवेशनबाट नेतृत्व चयन गर्ने नेकपा एसको तयारी छ।
विधान संशोधनका लागि नेकपा एसले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ। शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताए।