तिहार लागेसँगै राजधानी छाड्ने र भित्रिने यात्रुको चाप बढ्यो

होमल्याण्ड खबर

२०७५ कार्तिक २० गते, मंगलवार १६:२५ मा प्रकाशित

तिहार लागेसँगै राजधानी भित्रिने र बाहिरिने यात्रुको चाप बढ्न थालेको छ। तिहारको पहिलो दिन सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजसे सम्मको २४ घण्टामा राजधानी भित्रिने र बाहिरने ४ वटा नाकाबाट १ लाख ७ हजार बढी यात्रु राजधानी काठमाडौं उपत्यका भित्रिएका छन्।

यो अबधीमा कूल १२ हजार ६ सय ८९ सवारी साधनबाट १ लाख ७ हजार ५ सय ८७ जना यात्रु राजधानी भित्रिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो। यही अबधीमा मुलुकका विभिन्न भागबाट १ लाख ६ हजार बढी यात्रु राजधानी भित्रिएका छन्। महानगरीय ट्राफिक प्ररही महाशाखाका इन्सपेक्टर, सहायक प्रवक्ता दामोदर सिलवालका अनुसार अनुसार यो २४ घण्टामा १२ हजार ५ सय ५२ वटा सवारी साधनमा १ लाख ६ हजार ५ सय ६२ जना राजधानी भित्रिएका हुन्।

अरु बेला सामान्यतया ७० हजारको हाराहारीमा यात्रु राजधानी आउजाउ गर्ने भएपनि दशैं तिहार जस्ता चाडपर्वमा राजधानी छाड्नेको चाप बढ्ने गर्छ। गएको दशैंमा २९ लाख ६८ हजार ३ सय १५ यात्रुले राजधानी छाडेको महाशाखाका सकायक प्रवक्ता सिलवालले जानकारी दिए। तिहारमा भने ५ लाखको हाराहारीमा यात्रु राजधानी बाहिरिने अनुमान महाशाखाले गरेको छ।

तिहारको बेला राजधानी र शहरी क्षेत्रमै बढी रमाइलो हुने, दशैंमा घर गएका जागिरे बाहेकका विद्यार्थी तिहारपछि फर्किने भएकोले दशैंमा जस्तो तिहारमा यात्रुको चाप नहुने लम्सालको भनाइ छ। विशेष गरी तिहारको बेला तराई क्षेत्रका नागरिकको चाप हुने ट्राफिक महाशाखाको भनाइ छ। उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने भित्रिने गर्छन्।