एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर किन्ने

होमल्याण्ड खबर

२०८० पुष १५ गते, आईतवार ११:२८ मा प्रकाशित

नेकपा (एमाले) गण्डकीले प्रदेश कमिटीले पार्टी कार्यालय प्रयोजनका लागि १० करोडमा घर किन्ने भएको छ। प्रदेश कमिटीका सचिव धनन्जय दवाडीका अनुसार शुक्रबार बसेको बैठकले १० करोडमा घर खरिद् गर्न १५ लाख बैना दिइसकेको हाे।

‘प्रदेश कमिटीले यसअघि नै सदस्यहरूबाट लेबी उठाएर पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो,’ उनले भने, ‘अस्ति बसेको बैठकले १० करोडमा घर खरिद् गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायत नेताहरू भएर घर हेरेका थियौं। प्रदेश कमिटीले त्यसलाई अन्तिम रूप दिएको हो।’

उनले पोखरा महानगरपालिका–८ सिर्जनाचोकभन्दा केही माथि घर खरिद गर्न लागेको बताए। घरधनी पर्यटनसँग सम्बन्धित व्यवसायी रहेको पनि उनले बताए।

गण्डकीमा ६३ हजार ५४७ जना पार्टी सदस्य छन्। उनीहरूबाट पाँच–पाँचसय उठाउने निर्णय पनि यसअघि नै भइसकेको दवाडीले बताए। त्यसबाट ३ करोड १७ लाख ७३ हजार उठ्ने र बाँकी रकम सुभेच्छुकहरूसँग उठाएर पुर्‍याउने लक्ष्य रहेको उनले बताए।