बालकुमारी घटना : सरकार द्वारा छानबिनका लागि उच्चस्तरीय आयोग गठन

होमल्याण्ड खबर

२०८० पुष १६ गते, सोमबार १०:२३ मा प्रकाशित

सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा सो आयोग गठन गरेको हो ।

बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको छ ।घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउने छ ।

एक महिनाको समय दिइएको आयोगलाई घटनामा जो दोषी देखिए पनि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ ।

उक्त घटनाको छानविनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।