राष्ट्रिय सभाकाे सीट भागबन्डाबारे कांग्रेस र माओवादीबीच छलफल

होमल्याण्ड खबर

२०८० पुष १७ गते, मंगलवार १२:१६ मा प्रकाशित

काठमाडौं। सत्ता गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनमा सीट बाँडफाँटको विषयमा कांग्रेस र माओवादीबीच छलफल भएको छ। गठबन्धनमा सीटको भागबन्डा मिलाउन मंगलबार कांग्रेसका शीर्ष नेताहरू बालुवाटार पुगेर छलफल गरेका हुन्।

छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

दुई दलबीचको छलफलमा यसअघिको मतभार, अहिलेको अवस्थाबारे प्रारम्भिक छलफल भएको छ । त्यही आधारमा गठबन्धनमा सीट भागबन्डाको तयारी भइरहेको बताइन्छ। शीर्ष नेताबीच अब गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर निष्कर्षमा पुर्‍याउने सहमति बनेको छ।

कांग्रेस नेता रमेश लेखकका अनुसार राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटका लागि बुधवार गठबन्धनको बैठक बस्ने छ। छलफलमा राष्ट्रियसभाको सिट बाँडफाँट चाँडै टुङ्ग्याउनुपर्नेमा कुरा भएको उनको भनाई छ।