कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जति मुद्दा

होमल्याण्ड खबर

२०८० पुष १७ गते, मंगलवार १५:०५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतिको मुद्दा दायर गरेका छन्। लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको मुद्दामा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ।

यस्तो छ फिरादपत्र

‘कान्तिपुर पत्रिकामार्फत तथा अनलाइन पत्रिका ekantipur.com समेतबाट मिति २०८०/०९/०९ गतेदेखि हालसम्म प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन सक्दैन। गैरजिम्मेवार तबरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौं लामो सामाजिक, व्यावसायिक, राजनैतिक तथा पेसागत जीवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यी विपक्षी प्रतिवादीहरूलाई छैन। पत्रकारिताको मूल मन्त्रलाई बिर्सेर गरिएको प्रकाशन नितान्त दोषयुक्त छ। यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही नगर्ने हो भने पत्रकारिताको नाउँमा जसले जे गरे पनि हुने परिस्थिति सिर्जना हुनुका अतिरिक्त कानूनी व्यवस्था समेत निष्प्रभावी हुने हुँदा मेराविरुद्ध झूटो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरूलाई हदै सजाय गरी न्याय दिलाई पाऊँ।

म फिरादीको इज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जीवन, सम्मान, पेसा तथा व्यावसायिक जीवनमा समेत गम्भीर धक्का पुर्‍याउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताई जानीबुझी सार्वजनिक रूपमा मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०/०९/१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका ekantipur.com समेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ.ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ. ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु. १५१ दिलाई भराई पाऊँ।’