मोटरसाइकलको ठक्करबाट ट्रेनिङको क्रममा दौडिरहेका प्रहरी जवानको मृत्यु

होमल्याण्ड खबर

२०८० पुष १८ गते, बुधबार ११:०९ मा प्रकाशित

मोटरसाइकलको ठक्करबाट हेटौँडामा एक जना प्रहरी जवानको मृत्यु भएको छ। दुई जना प्रहरी सहित मोटरसाइकल चालक पनि घाइते भएका छन्। बुधवार बिहान हेटौँडा–नवलपुर सडक खण्ड अन्तर्गत थानाभर्याङ क्षेत्रमा फिजिकल ट्रेनिङको लागि दौडिरहेको प्रहरीको टोलीमाथि मोटरसाइकलले ठक्कर दिएको थियो ।

हेटौँडाबाट नवलपुर जाँदै गरेको ना ४ प २२२ नम्बरको मोटरसाइकल ठक्करबाट दौडिरहेका प्रहरी जवान डडेलधुरा अलिताल गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय विनोद एडीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा थप दुई जना प्रहरी पनि घाइते भएका छन् भने मोटरसाइकल चालक पनि घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान नवराज सार्की र प्रहरी जवान विजय खत्री रहेका छन्। मृतक र घाइते तिनै जना बागमती प्रदेश प्रहरी गणमा कार्यरत थिए। अर्का घाइते मोटरसाइकल चालक हेटौँडा ४ का ४१ वर्षीय गणेश लामालाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।