काठमाडाैं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

होमल्याण्ड खबर

२०८० पुष १९ गते, बिहीबार १०:३८ मा प्रकाशित

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन्। बिहीबार काठमाडौंमा हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर काठमाडौं आएका हुन्।

भारतीय विदेशमन्त्री जयशंकरको स्वागतका लागि परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साललगायतका अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणमा भएको समझदारीअनुसार नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने भएको छ । सम्झौतासँगै १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको बाटो खुल्नेछ । नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।

बैठकमा सहभागी हुन भारतबाट विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायतका अधिकारी पनि आएका छन् । नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना सहभागी हुनेछन् । त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी हुनेछन् ।