४ मंसिर २०८१, मंगलवार
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका पाँच प्रदेश समितिले उम्मेदवार सिफारिस गरेको छ ।
मधेस र बागमती बाहेक कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो ।
जसमा कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ । महिलातर्फ इलामका रजनी मेचे र सुनसरीका मेचीमाया धिमाल र रूक्मिणी कोइराला सिफारिस भएका छन् ।
त्यस्तै गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ । अपाङ्गता/अल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम सिफारिस भएका छन् ।
महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन् ।
यता लुम्बिनी प्रदेशले पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाका कृष्णकुमारी गुरूङ, दाङका तुलसा केसी र बाँकेका एकमाया विश्वकर्माको नाम केन्द्रमा पठाएको छ ।
कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ । जसमा खुला (अन्य)तर्फ जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहाुदुर महत, मुगुका डिल्ली भट्ट सिफारिस भएका छन् । दलिततर्फ दैलेखका हिक्मत विक, सुर्खेतका बलबहादुर नेपाली, हुुम्लाका पर्वत सुनार, रूकुम पश्चिमका शशिराम नेपाली सिफारिस भएका छन् ।
महिलातर्फ डोल्पाका बदमी क्वारा बोहोरा, हुम्लाका विमलाकुमारी शाही र कालिकोट सुभद्रा सिंह सिफारिस भएका छन् ।
सुदूरपश्चिम प्रदेशले खुला (अन्य) तर्फ कैलालीका होरीलाल चौधरी, कञ्चनपुरका ईश्वरी खरेल, डोटीका डिल्लीराज भट्ट र बाजुराका रंगमान शाहीलाई सिफारिस गरेको छ ।
महिलातर्फ कैलालीका सावित्री घिमिरे, कैलालीकै कमला केसी र कञ्चनपुरका चित्रकुमारी चौधरी सिफारिसलाई सिफारिस गरेको छ । अल्पसंख्यक निर्वाचन क्षेत्र कञ्चनपुरका हरिदत्त भट्ट, कैलालीका रामदत्त जोशी र कञ्चनपुरकी अनीता ढुंगाना सिफारिस भएका छन्।
तल्लो तहबाट सिफारिस भएर आएका नामहरूको टुंगो लगाउन आजै एमालेको केन्द्रीय सचिवालय बस्दैछ । मध्याह्न १२ः४५ बजे बस्ने सचिवालय बैठकले सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार छनोट गर्नेछ ।