वित्तीय क्षेत्रको सुधार गर्न नेपाल र बंगलादेशबीच सहमति

होमल्याण्ड खबर

२०७५ कार्तिक २५ गते, आईतवार १३:५१ मा प्रकाशित

वित्तीय क्षेत्रको दीर्घकालीन सुधारमा सहकार्य गर्ने उद्देश्यसहित नेपाल र बंगलादेशबीच सहमति भएको छ । दुवै देशको वित्तीय क्षेत्रमा जनशक्ति विकासमा दीर्घकालीन रूपमा सहकार्य गर्ने उद्देश्यसहित बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट, ढाकाबीच सहमति भएको हो ।
सहमति पत्रमा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका तर्फबाट संस्थाका अध्यक्ष तथा प्रबन्ध सञ्चालक डा. विनोद आत्रेय र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका तर्फबाट उक्त संस्थाका डाइरेक्टर जनरल डा. तोफिक अहमद चौधरीले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दुवै सस्थाले शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने, सेमिनार, कार्यशाला तथा गोष्ठीहरू आयोजना गर्ने, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गर्ने छन् । यस्तो सहमतिले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महवपूर्ण योगदान पुराउने विश्वास लिएको डा. आत्रेयले जानकारी दिए ।
नेपालका १५ वटा बैंक तथा वित्तीय संस्थाहरू र इमर्जिङ्ग नेपाल लि.ले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रवद्र्धन गरेको बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंकसँग सहकार्य गर्ने गरी सहमति भएको उनको भनाइ छ ।
बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौं वार्षिक बैंकिङ सम्मेलनका अवसरमा गरिएको उक्त सहमतिपत्र हस्ताक्षर गरिएको थियो ।
कार्यक्रममा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका सञ्चालकद्वय भवानी ढकाल र सुदीप खनाल तथा बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारी सहभागी थिए ।