चेतनकाे हत्यामा दोषी ठहर भएका ६ जनालाई साधारण तारेखमा छोड्न आदेश

होमल्याण्ड खबर

२०८० पुष २० गते, शुक्रबार १७:०० मा प्रकाशित

 गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।

बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर क्रूर तरिकाले हत्या गरेको आरोपमा उनीहरू सबैलाई जिल्ला र उच्च अदालतले दोषी देखाएको थियो ।

सर्वोच्च अदालतले भने मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरेको जनाएको छ । धनराज थापा, जङ्ग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ ।