गठबन्धन एकजुट भएर निर्वाचनमा सहयोग पुर्‍याउँछौं : कृष्ण सिटौला

होमल्याण्ड खबर

२०८० पुष २३ गते, सोमबार १४:४६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभाको उम्मेदवारी दर्तापश्चात उनले पार्टीभित्रको विवाद पनि मिलाउने बताए ।

‘गठबन्धन एकजुट भएर निर्वाचनमा सहयोग पुर्‍याउँछौं । उम्मेदवार छनौटमा जे जति कुरा भएका छन् । ती सबैलाई थाती राखेर सबै संयुक्तरूपमा अगाडि बढ्छौं’, उनले भने ।

कोशीमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीबाट चम्पादेवी कार्कीले मनोनयन दर्ता गराइसकेका छन् । सिटौलाको समर्थकका नेपाली कांग्रेसका हिमाल कार्की रहेको छ भने प्रस्तावकमा प्रदीप सुनुवार थिए । त्यस्तै माओवदीका उम्मेदवार कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री र प्रस्तावकमा माओवादीका गणेश उप्रेती छन् ।

सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा-३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।

कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।