६ चैत्र २०८२, शुक्रबार
नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन. १ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना सङ्क्रमण भित्रिएको पुष्टि हुँदा पनि धनगढीबाट पठाइएको स्वाबको रिपोर्ट अझै आएको छैन । कैलालीबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएका कोरोना बिरामीका नमुनाको रिपोर्ट २ साता बढी बितिसक्दा पनि नआएका हो ।


भारतमा जेएन–१ भेरियन्टको कोरोना बढी रहेका बेला, नेपालमा पनि सोही भेरियन्ट हुनसक्ने भन्दै सुदूरपश्चिम प्रादेशिक प्रयोगशालाले पुसको ६ गते ४ जना पुसको ११ गते ५ जनाको स्वाबको नमुना काठमाडौं पठाएको थियो । तर, सोमबार साँझ सम्म पनि ती स्वाबको रिपोर्ट नआएको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले जानकारी दिए। ‘हामीले दुई चरणमा कोरोना सङ्क्रमितको स्वाब पठाएका थियौँ तर, अहिले सम्म पनि त्यसको रिपोर्ट आएको छैन ’ उनले भने ।
भारतको राजधानी दिल्ली सहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले सम्म यसरी कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या १० पुगिसकेको छ । ‘हामीले घर घर सम्म पुगेर स्वाब संकलन गरेर परीक्षणको लागि पठाएका थियौँ तर, अहिले सम्म त्यसको रिपोर्ट आएन ’ उनले भने ।
६ महिना बढी समय कोरोना सङ्क्रमण नदेखिएको सीमा नाकामा पहिलो पटक पुसको ४ गते कोरोना सङ्क्रमित भेटिएका थिए । त्यसपछि ११ गते सम्म झन्डै दैनिक जसो सङ्क्रमित फेला परे । त्यसपछि बिहीबार कोरोना सङ्क्रमित फेला परेका हुन् । भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोनाका बिरामीहरू बढ्न थालेका छन् । तर, कुन भाइरस हो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन ।
सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको छ । लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको छ । तर घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले पनि केही दिनअघि सचेत गराएको थियो । भारतसँगको खुला सिमाना भएका कारण त्यहाँ पुस्टी भएको भेरियन्ट नेपालमा सहजै आउन सक्ने खतरा बढेको छ ।