क्यानले गर्याे सन्दीप लामिछानेलाई निलम्बन

होमल्याण्ड खबर

२०८० पुष २६ गते, बिहीबार ११:३४ मा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनैपनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ,’ ‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारणसमेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा एक नाबालिग युवतीद्वारा बलात्कारको उजुरी परेको थियो ।