९ मंसिर २०८१, आईतवार
चोटका कारण तीन साता मैदानबाहिर रहेका स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी खेलमा फर्केका छन् । उनले पुनरागमन गरेको खेलमा भने बार्सिलोना रियाल बेटिससँग पराजित भएको छ ।
ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोना घरेलु मैदानमा ४–३ ले पराजित भएको हो । मेस्सीले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।
बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमा केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रह्यो ।
६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुनः कायम गर्यो । जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ ले अगाडि बढाए ।
भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको आशा जगाए । इभाँ राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना कमजोर बन्यो ।
८३ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई ४–२ को अग्रता दिलाए । इन्जुरी समयमा मेस्सीले दोस्रो गोल गरेर अन्तर त कम गरे टिमलाई बराबरीमा ल्याउन सकेनन् ।
यो हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एथ्लेटिको मड्रिड र अलाभेसको २३ अंक छ ।