३ मंसिर २०८१, सोमबार
नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कैलालीको टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।
सर्वसहमति प्रयास जारी राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारको भीडभाड भएकाले पूर्वनिर्धारित समयमा मनोनय दर्ता सम्पन्न हुन सकेको बताइएको छ ।
अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको उम्मेदवारी परेको छ । हाल उनी पार्टीको संरक्षक छन् । अध्यक्ष अहिलेसम्म चौधरीबाहेक अन्यको उम्मेदवारी परेको छैन । वर्तमान अध्यक्ष एवं चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले अहिलेसम्म मनोनयन दर्ता गराएकी छैनन् । अध्यक्षमा चुनाव हुने सम्भावना कम हुँदै गएको नेताहरू बताउँछन् ।
एकभन्दा बढी उम्मेदवारी परेका पदमा शुक्रबार दिउँसो १ः४५ मा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
सह–अध्यक्ष १, महासचिव १, सचिव ७, उपाध्यक्ष ७, सहसचिव ७ र कोषाध्यक्ष १ गरेर ३३ पदाधिकारी चयन हुनेछन् ।