न्यायाधीश बिदामा बसेपछि आलमविरुद्ध मुद्दाको पेसी स्थगित

होमल्याण्ड खबर

२०८० पुष २९ गते, आईतवार १३:२५ मा प्रकाशित

कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज तोकिएको पेसी स्थगित भएको छ ।

जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश बिदामा भएकाले आलमविरुद्ध मुद्दाको आजका लागि तोकिएको पेसी स्थगित भएको हो ।

जिल्ला अदालतका सात न्यायाधीमध्ये आइतबार दुईजना मात्र अदालतमा उपस्थित छन् ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु बिदामा भएकाले पेसीमा चढेन ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ ।