संसदको बाँकी चार वर्षे कार्यकालमा फेरि मन्त्री बन्दिनँ : राजेन्द्र लिङदेन

होमल्याण्ड खबर

२०८० माघ ४ गते, बिहीबार १३:१७ मा प्रकाशित

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

राप्रपाभित्र सरकारमा जाने र नजाने विषयमा दुई धार छ । चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् अध्यक्ष लिङ्देन ।

केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागीताको प्रसंग उठ्यो । स्रोतकाअनुसार सधैँ झैं बैठकमा दुई धार देखिए । अन्ततः लिङदेनले दुवै पक्षको मुख बुझो लगाउँदै घोषणा गरे, ‘संसदको बाँकी चार वर्षे कार्यकालमा म सरकारमा जान्न ।’

लिङ्देनले आफू व्यक्तिगतरुपमा सरकारमा नगए तापनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने बन्द गरेका छैनन् । यस विषयमा राप्रपा प्रवक्ता मोहन श्रेष्ठसँग प्रश्न गर्दा उनले आवश्यकता अनुसार राप्रपा सरकारमा जान सक्ने बताए ।

उनले भने, ‘अध्यक्षज्यूले आफू सरकारमा नजाने भन्नुभएको छ । यद्यपि, पार्टी नै चार वर्ष बाहिर बस्ने भनेर निर्णय भएको छैन । आवश्यकताअनुसार अरु कसैको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुन सक्छ ।’

यदि अध्यक्ष लिङदेनलाई प्रधानमन्त्रीकै अफर आयो भने पनि यो चार वर्ष तयार नहुने हो ? भन्ने प्रश्नमा श्रेष्ठले जवाफ दिए, ‘प्रधानमन्त्री पाए त नबन्ने कुरा हुँदैन । सरकारमा नजाने नभन्नुभएको हो, आफ्नै नेतृत्वमा सरकार बनाउने अवसर आयो भने त्यो अर्को प्रश्न हुन्छ ।’