अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराइने

होमल्याण्ड खबर

२०७५ कार्तिक २६ गते, सोमबार १२:३९ मा प्रकाशित

निलाम्बर आचार्यलाई सरकारले भारतका लागि नयाँ राजदूतको रुपमा सिफारिस गरेको छ। आइतबार राति सकिएको मन्त्रिपरिषद् बैठकले भारतका लागि नयाँ राजदूतका रुपमा आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको हो। उनी पूर्वराजदूत तथा इपिजी सदस्य हुन्।

यसैगरी, मलेसियाका लागि उदयराज पाण्डे र युनाइटेड अरब इमिरेट्स (युएई) का लागि कृष्णप्रसाद ढकाल राजदूत सिफारिस भएका छन्। पाण्डे साउदी अरेबियाको राजदूत भइसकेका छन्। ढकाल भने परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

बैठक स्थलबाट बाहिरिने क्रममा संक्षिप्त कुराकानी गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बैठकले कर्मचारी समायोजन विधेयक अघि बढाउने निर्णयसमेत गरेको जानकारी दिए।

यसैबीच, सरकारले मन्त्रिपरिषद्का निर्णयहरु तत्काल जानकारी नगराउने भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले अबदेखि मन्त्रिपरिषद्को निर्णय तत्काल जानकारी नगराउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भने, ‘अबदेखि मन्त्रिपरिषद्का निर्णयहरु समय क्रमसँगै थाहा दिने निर्णय भएको छ।’

यसअघि विशेष अवस्था बाहेक महत्वपूर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराइन्थ्यो।