बक्सर गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० वर्षीय युवक पक्राउ

होमल्याण्ड खबर

२०८० माघ ५ गते, शुक्रबार १४:४७ मा प्रकाशित

बक्सिङ खेलाडी नीता गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीबाट पक्राउ परेका युवक भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु भएको खुलेको छ ।

३० वर्षीय लबजुलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

सशस्त्रको जवान पदमा कार्यरत नीता माघ २ मा भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनी झुन्डिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् ।

गोसाईंलाई दिनेश लबजुले आत्महत्या दुरुत्साहन गरेको आरोप छ । आरोपी विरुद्ध प्रहरी वृत्त जगातीले आत्महत्या दुरुत्साहन मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

डिएसपी पाठकले लबजु र निताको सम्बन्धबारे खुलाउन नमिल्ने बताए । उनले भने– ‘अनुसन्धानको विषय भएको हुनाले कसरी दुरुत्साहन भयो भन्नेबारे भन्न मिल्दैन ।’

निता ६ वर्षअघि सशस्त्रमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनले ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी हुन् ।