नेप्से २५ अंकले घट्यो

होमल्याण्ड खबर

२०८० माघ ७ गते, आईतवार १६:२० मा प्रकाशित

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर दुई हजार एक सय ३०.१८ बिन्दुमा झरेको छ। यसअघि गत बुधबार र बिहीबार क्रमशः १२ र ७ अंकले घटेको नेप्से आइतबार दोहोरो अंकले घटेको हो।

नेप्सेसँगै आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि घटेका छन्। जलविद्युत र ‘अन्य’ समूहबाहेक नेप्सेका सबै समूहका सूचकमा गिरावट आएको छ। आइतबार जलविद्युत र अन्य समूहको सूचक क्रमशः ०.२० प्रतिशत र १.३८ प्रतिशतले बढेका छन्। सर्वाधिक घटेका बैंक, विकास बैंक र वित्त समूहमा दुई प्रतिशतभन्दा धेरै गिरावट देखिएको छ।

आज ३०८ कम्पनीका दुई करोड २८ लाख २० हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम सात अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबार सात अर्ब ६३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएकामध्ये १७७ कम्पनीको सेयर मूल्य घट्दा ६४ कम्पनीको मात्रै मूल्य बढेको छ। बजार दोहोरो अंकले घटेपनि आँखुखोला जलविद्युत कम्पनी, समाज लघुवित्त, हिमालयन लघुवित्त र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

सिइडिबी हाइड्रोपावर विकास कम्पनी, मोलुङ हाइड्रोपावर कम्पनी र बाराही हाइड्रोपावरको सेयर मूल्य क्रमशः ८.२७, ७.२६ र ६.२५ प्रतिशतले घटेका छन्। आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स र कारोबार भोलुमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन्।