६ चैत्र २०८२, शुक्रबार
काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् ।
महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् ।


पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।
‘हामीले आइतबार साँझ पनि एउटा अप्रेसन गरेका थियौं, जसमा १५ भन्दा बढी ठेलागाडासहित अन्य सामग्री जफत गरेका थियौं । सोही कुरालाई लिएर अहिले प्रदर्शन भइरहेको छ,’ महानगर प्रहरीका एक अधिकारीले भने ।
फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । नेपाल प्रहरीसहित नगर प्रहरीको टोलीले गेटमा सुरक्षा दिइरहेको छ ।
महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल जफत गरेको नगर प्रहरीले बताएको छ ।
आन्दोलनको अगुवाई गरेका अभियान्ता कुमार सापकोटोले नगर प्रहरीले लुटको शैलीमा फुटपाथ व्यवसायीको सामान जफत गरेका कारण आन्दोलनमा उत्रिनु परेको बताए ।