३ मंसिर २०८१, सोमबार
धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिष्कार गरेका छन् ।
साम्पाङले कार्य व्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका हुन् । ‘म व्यस्त छु । श्रमदानमा व्यस्त मान्छेले भोट हाल्न भ्याउदिनँ,’ उनले भनेका छन् । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब चार जनाले मात्र मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिएका छन् ।
बिहान ९ बजेबाट सुरू भएको मतदानस्थलमा मेयर साम्पाङ अहिलेसम्म देखिएका छैनन् । कोशीमा अहिलेसम्म प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका छन् । स्थानीय तहतर्फबाट भने चार जनाले मात्र मतदान गर्न बाँकी रहेको भन्दै अधिकारीले ३ बजेसम्म पर्खिने बताए ।
कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ । एमाले र राप्रपाका बीचमा तालमेल गरेर एमालेका परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय बनाइएको छ । एमालेले राप्रपाका उद्धव पौडेललाई र राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई सहमति भएको छ ।
सत्ता गठबन्धनबाट अन्यतर्फ कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । कोशीमा ९३ जना प्रदेश सभा सदस्य र २७४ जना प्रमुख उपप्रमुखले मतदान गर्ने छ ।