३ मंसिर २०८१, सोमबार
राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि ५ जेठदेखि फरार छन् ।
निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २ सय२९ जनाले मतदान गरेका छन् । गण्डकीमा स्थानीय तहबाट १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ६० सदस्य गरी २ सय ३० जना मतदाता छन् ।
गण्डकीमा सत्तारुढ गठबन्धनबाट अन्यतर्फ कांग्रेसका गोरखाका किरणबाबु श्रेष्ठ, अपांगतर्फ तनहुँका पदमबहादुर परियार र महलिामा माओवादीबाट पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन् । एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् । राप्रपाले रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धन दलबाट गण्डकीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको उपस्थिति छ । कांग्रेसको २ हजार ७ सय ४, नेकपा माओवादीको ९सय ९४, एकीकृत समाजवादीको ७२ र राष्ट्रिय जनमोर्चाको ५७ गरी ३ हजार ८ सय २७ मतभार छ । एमालेको २ हजार ४ सय ३९ मतभार छ । एमालेबाट निर्वाचित ढोरपाटनका मेयर नेपाली अनुपस्थित हुँदा एमालेको पक्षमा २ हजार ४ सय ३९ मतभार देखिन्छ । राप्रपाका २ सांसदको १ सय ६ मतभार छ ।
राष्ट्रियसभा निर्वाचनको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन कार्यालयले जनाएको छ । उपल्लो सदन छिर्न तम्तयार रहेका गठबन्धनका उम्मेदवारले निर्वाचनस्थलमै खुसी साट्दै जनताको आवाज उठाउने प्रतिवद्धता गरिरहेका छन् । गठबन्धनका उम्मेदवार कांग्रेसका किरणबाबु श्रेष्ठले पार्टीले न्याय गरेको भन्दै सदनमा जनताको पक्षमा काम गर्ने बताए ।
अपांगतातर्फका उम्मेदवार पदम परियारले विशेष गरी अपांगता भएका र दलित समुदायको अधिकारको लडाइँ लड्ने बताए । महिलातर्फकी उम्मेदवार मनरुपा शर्माले शहीद र यो व्यवस्थाका लागि लडेकाहरुको योगदानलाई कदर गर्दै सदनमा सधैं आवाजबिहीनहरुको आवाज बन्ने बताइन् ।
एमालेका उम्मेदवारहरुले निर्वाचनमा जीतहार जे भए पनि स्वीकार्नुपर्ने र सधैं जीतमात्रै पनि अर्थ नराख्ने बताए । एमाले उम्मेदवार चक्रबहादुरले कुनै चुनावमा पार्टीको उपस्थितिले पनि अर्थ राख्ने र मौकामा पार्टीले न्याय गर्ने विश्वास व्यक्त गरे ।