एनसेल प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी

होमल्याण्ड खबर

२०८० माघ १५ गते, सोमबार १४:४४ मा प्रकाशित

सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने भएको छ ।

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागेको हो । करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको समितिका संयोजक एवम् पूर्व महालेखापरीक्षक टंकमणि शर्माले जानकारी दिए ।

शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए । सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो ।

मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए । यसलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो ।