पशुपतिको जग्गाका अवैध संरचना हटाउन मन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०८० माघ १६ गते, मंगलवार १३:२६ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा उनले कोषको जग्गामा हैकम जमाएर व्यवसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल एक्सनमा जान र आउँदो बैठकमा प्रगति पेश गर्न कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन् ।

कोषको काठमाडौं महानगरपालिका-८ गाँचा पोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर संरचना बनाइएको छ । त्यस्तै वडा नम्बर ३ भगवान्‌ स्थानमा साविक कित्ता नम्बर ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएकोले उक्त जग्गाको खोजी गरिएको सचिवालयले जनाएको छ ।

सिफलस्थित लामा पोखरी रहेको कित्ता नम्बर १३५, १८०, ८३ का संरचना पनि कानूनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्यांकन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ । बोर्डका सदस्यसमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्राविधिक मूल्यांकन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको भन्दै कार्यान्वयन गराउने बचन दिएका छन् ।

त्यस्तै गोठाटारस्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्न पूर्वसचिवस्तरीय उच्च समिति गठन गरिने मन्त्री किरातीले बताएका छन् ।