३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहालले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले लगाएका छन्।
मंगलबार शुरु भएको समुदायमा काँग्रेस अभियानको विराटनगरमा शुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री प्रचण्डबाट भएको बताएका हुन्। प्रजातन्त्रका निम्ति बलिदानी दिएका शहीदको अवमूल्यन प्रधानमन्त्री दाहालले गरेको बताएका नेता कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार शहीद थप्ने कुरा गर्नुभयो। शहीद दिवसका दिन हामीले शहीदलाई अवमूल्यन गर्न भएन। त्यो कुरामा ध्यान दिन आवश्यक छ। शहीदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ भन्ने मलाई लाग्छ। शहीदको संख्या थप्दै गर्दा शहीद शब्दकै अपमान हुने बुझेको छु।’
प्रधानमन्त्री प्रचण्डले माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने अभिव्यक्ति दिएका थिए। त्यसैगरी कार्यक्रममा नेता कोइरालाले काँग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको उल्लेख गरे। उनले समुदायस्तरमा देखिएका कमी कमजोरीलाई आत्मसात गर्दै सच्चिएर काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिए। उनले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारी रूपमा जनतामाझ पुराउन महानगरले काम गर्दै आएको बताए।