३ मंसिर २०८१, सोमबार
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री कबुढाथोकी निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको थियो । विसं २००१ असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मिएका स्व बुढाथोकीले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।
बुढाथोकीको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने र उनको निधनबाट कांग्रेस मर्माहत र स्तब्ध भएको बताइएको छ । आकस्मिक बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।