११ मंसिर २०८१, मंगलवार
लामो प्रयासपछि विएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् ।
नयाँ जातको बीउ पत्ता लगाउन कम्तिमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा. दीपक भण्डारी बताउँछन् । नार्कले उच्चकोटिको मूल बीउ उत्पादन गरी नेपालका सबै कृषि केन्द्र, कृषि फार्म र बीउविजन कम्पनीलाई आफ्नो रेखदेखमा स्वामित्व हस्तान्तरण गर्ने र उक्त निकायले खेती गरी प्राप्त भएको बीउ दोस्रो वर्षपश्चात विभिन्न निकायमार्फत बिक्री वितरण गर्नेछ ।
तराईका २२ जिल्लाका लागि सिफारिश भएको सो बीउ सबै किसानकहाँ भने अर्काे वर्ष मात्र पुग्नेछ । तराईमा हाल विजय, गौतम, एनएल ९७१, भृकुटी र बाडगङ्गा जातको बीउ गहुँखेतीका लागि सिफारिस गरिएको छ । केही वर्ष पहिले ‘नेपाल २९७’ जातको गहुँको बीउमा आठ वर्षबाट सिन्दुरे, पातडढुवा र कालोपोके नामको रोगको अतिक्रमण बढेपछि उत्पादनमा व्यापक ह्रास आएको थियो । सो बीउको सट्टा विएल ४३४१ नामको बीउ उन्मोचन गरिएको नार्कले जनाएको छ ।
नेपालको तेस्रो प्रमुख खाद्यान्न बाली गहुँ हो । नेपालीले गहुँबाट बन्ने परम्परागत परिकारमा ढिडो, रोटी, र सुप बनाइ खाद्यान्नको रुपमा प्रयोग गर्छन् भने आधुनिक खाद्यान्नअन्तर्गत, बेकरी उद्योग, चाउचाउ, मैदा र सुजीको पीठो बनाउन आवश्यक पर्छ । नेपालको सातै प्रदेशमा गहुँखेती गर्न सकिन्छ । नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बीउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बीउमा आत्मनिर्भर छ । खेत तथा बारीमा बीउ छरेको २२ देखि २५ दिनभित्र सिँचाइ आवश्यक पर्छ । सामान्यतया गहुँको बीउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीन पटक सिँचाइ आवश्यक पर्छ ।
नेपाल गहुँमा आत्मनिर्भर छ । नेपालीको खाने आदतमा सुधार गर्ने हो भने हालको जनसंख्यालाई धान्न अहिले मौज्दात रहेको नेपालको खाद्यान्न पर्याप्त हुने धारण राख्छन् कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी । प्रायःजसो नेपालीले दुवै छाक भात खान्छन् । एक छाक गहुँबाट तयार हुने रोटी, ढिडो तथा अन्य परिकार खाने हो भने नेपालका लागि गहुँ आयातमा कमी ल्याउन सकिन्छ । नेपालमा गत वर्ष गहुँको उत्पादन २२ लाख मेट्रिक टन भएको थियो ।