चार वर्षभित्र केरुङ–काठमाडौं रेल चल्छ : मन्त्री रघुवीर महासेठ

होमल्याण्ड खबर

२०७५ कार्तिक २७ गते, मंगलवार १३:०३ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो चार वर्षभित्र पूर्वपश्चिम, केरुङ–काठमाडौँ, काठमाडौँ– रक्सौल रेलमार्गले जोडिने जिकिर गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री महासेठले अधिकांश ठाउँमा डीपीआर धमाधम तयार भइरहेको र बाँकी ठाउँमा कन्सल्ट्यान्ट नियुक्त गर्ने कामसमेत सकिइसकेको बताउँदै ‘कागजको रेल चलाएर सरकारको खिसिट्युरी गर्ने्हरूलाई छिट्टै जवाफ दिन लागेको बताए ।

जनकपुर–जयनगर–कुर्तासम्म रेलमार्ग तयार भइसकेको बताउँदै उनले सरकारले रेल किन्ने तयारी गरिरहेको जानकारी दिए । रेल खरिद गर्ने सन्दर्भमा भारतको रेल्वे मन्त्रालयसँग कुरा भइरहेको उनले बताए ।

कुर्तासम्म आइपुगेको रेल दुई वर्ष्भित्र बर्दिबाससम्म सञ्चालनमा ल्याउने र अर्को दुई वर्षभित्र निजगढसम्म ल्याइपुर्याउने सरकारको लक्ष्य उनले सुनाए । त्यस्तै, मन्त्री महासेठले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको र चिनियाँ प्रतिनिधिमण्डलले सरकारलाई बुझाएको स्थलगत अध्ययन प्रतिवेदन हेर्दा ‘आकाशको तारो’ नभएको टिप्पणी गरे । “मैले चिनियाँ प्रतिनिधिमण्डलले बुझाएको प्रतिवेदन हेरेँ । पूर्वलागत अनुमान हेर्दा बनाउन नसकिने अवस्थामा छैन,” उनले भने ।

सम्भव भएसम्म अनुदानमा र नभए सफ्ट लोनमा भए पनि केरुङ–काठमाडौँ रेलमार्ग यही सरकारले जोड्ने दाबी उनले गरे । “अहिले कम ब्याजदरमा ४०–५० वर्षका लागि लोन पाइन्छ । अनुदान नै पर्खिएर बस्नुपर्ने अवस्था छैन । भारतमा यात्रु बोकेर त रेल नाफामा छन् । हामीकहाँ त सामानसमेत ढुवानी हुन्छ,” उनको भनाइ थियो ।

त्यस्तै, उनले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि भारतले प्रक्रिया शुरू गरिसकेको दाबी गर्दै आगामी चार वर्ष्भित्र दुवै रेल काठमाडौँ आइछाड्ने जिकिर गरे ।