पप्पुको मुद्दाको म्याद तामेलीमा ढिलाइ

होमल्याण्ड खबर

२०७५ कार्तिक २७ गते, मंगलवार १४:०९ मा प्रकाशित

पप्पु कन्स्ट्रक्सनका संस्थापक अध्यक्ष सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको एक महिना पूरा भएको छ ।

असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे पनि मुद्दाको बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन । विशेषले सम्बन्धित जिल्ला अदालतमार्फत् प्रतिवादीविरुद्ध अदालतमा हाजिर हुन आउन म्याद जारी गरे पनि प्रतिवादीहरुले म्याद बुझेका छैनन् । अख्तियारले सबै अभियुक्तलाई फरार सूचीमा राखेर मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले मुद्दा दर्ता गरेको भोलिपल्टैदेखि सम्बन्धित जिल्ला अदालतद्वारा म्याद बुझाउने प्रक्रिया सुरु गरेको थियो । तर, एक महिनासम्म म्याद बुझेको जानकारी विशेष अदालतले पाएको छैन । विशेषले १२ जना नै प्रतिवादीविरुद्ध म्याद पठाइसकेको छ । पप्पुका संस्थापक अध्यक्ष हरिनारायण रौनियारविरुद्ध विशेषले पर्सामा म्याद पठाएको छ ।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले सबै प्रतिवादीका नाममा म्याद पठाइएको तर, म्याद बुझेको जानकारी प्राप्त नभएको बताएका छन् । विशेषले १२ जना प्रतिवादीलाई अभियोगपत्रमा उल्लेख गरिएको ठेगानाको जिल्ला अदालतमार्फत् विशेषले म्याद पठाएको श्रेष्ठले बताए । उनले, ‘मुद्दा दर्ता लगत्तै हामीले म्याद पठाएका हौँ । तर, अहिलेसम्म म्याद बुझेको जानकारी हामीले पाएका छैनौँ । फलोअप भने गरिरहेका छौँ ।’

प्रतिवादीहरूले म्याद बुझेपछि मुद्दाको कारबाहीको दोस्रो चरणको प्रक्रिया सुरु हुनेछ । म्याद बुझेपछि अदालतमा उपस्थितिको दिनगन्ती सुरु हुनेछ । नियमित तथा दुई पटकसम्म थाम्न पाउने म्यादसहित बढीमा ५० दिनभित्र अदालतमा उपस्थित नभएमा मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।

बर्दिया सदरमुकाम गुलरिया र बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, डिजाइनमा समेत समस्या हुँदा उद्घाटन नहुँदै भत्किएको आरोपमा अख्तियारले सांसद रौनियार, उनका छोरा सुमितसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सडक डिभिजन कार्यालयका तत्कालीन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, र राजेशकुमार यादवलाई पनि अख्तियारले विपक्षी बनाएको छ । यस्तै, सडक डिभिजन कार्यालयका तीन इन्जिनियरलाई विपक्षी बनाइएको छ । अख्तिायरले परामर्शदाता कम्पनी एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रमुखलाई पनि विपक्षी बनाएको छ ।

संस्थापक अध्यक्ष सांसद रौनियार तथा छोरा सुमितसँग अख्तियारले जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपियाँ बिगो दाबी गरेको छ ।