बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

होमल्याण्ड खबर

२०८० फाल्गुन २ गते, बुधबार १५:५७ मा प्रकाशित

बलात्कार कसुरमा काठमाडौंजिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर छन्।

गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ। अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत थिए । सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरीको भनाइ छ।