१३ मंसिर २०८१, बिहीबार
सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट पदच्यूत गरिएका दीर्घ सोडारी पार्टीबाटसमेत निष्कासनमा परेका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरेको हो । कारवाही गरिएको पुष्टि गर्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले भने “पार्टीले नै कारवाही गरेर मन्त्रीबाट हटाएको हुनाले प्रदेश पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।”
उनले पदीय मर्यादानुकूल कार्य नगरेकाले मन्त्री पद र पार्टीको साधारण सदस्यसमेतबाट हटाइएको बताए
कैलाली– ४(क) का निर्वाचित सोडारीको प्रदेशसभा सदस्य पद भने यथावत् रहनेछ । संसद् नियमावलीअनुसार सम्बन्धित प्रदेशसभा सदस्यले दलत्याग नगरेसम्म उनको पद यथावत् रहनेछ । सोडारी पार्टी एकतापूर्व एमालेको कैलाली जिल्ला कमिटी अध्यक्ष थिए । त्यस्तै उनी पार्टीनिकट भ्रातृ संगठनको युवा संघको जिम्मेवारीसमेत निभाइसकेका छन् । मन्त्री पदबाट बर्खास्त भएका सोडारीको ठाउँमा कैलाली– ४(ख)बाट निर्वाचित कृष्ण सुवेदी मन्त्री नियुक्त भइ शपथसमेत खाइसकेका छन् ।
सोडारीमाथि महिलालाई दुर्व्यवहार गरेको आरोप समेत लगाइएको छ । तर यसबारेमा केही बताइएको छैन भने उनी चढ्ने जिप भाइटिकाको दिनमा परिवारका सदस्यले लिएर हिँड्दा दुर्घटनामासमेत परेको थियो ।