११ मंसिर २०८१, मंगलवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालन भएपनि रातको समयमा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले उडान भर्न अस्वीकार गरेका छन् । विमानस्थलले गत जेठ ७ गतेबाट १८ घन्टा सञ्चालन भइरहेको विमानस्थलको अवधि तीन घन्टा थप गरेको थियो ।
रात्रिकालिन समयमा उडान भर्नको लागि खुला गरिएको ६ महिनासम्ममा कतार एयरवेजले मात्र रातको १ बजे उडान गर्न थालेको छ । विमानस्थल कार्यालयले गत साता ६ महिनाका लागि तय गरेको नयाँ सेड्युलअनुसार कतार एयरवेजले रातको १ बजे अवतरण गरेर २ बजे फर्कने गरेको छ । बाँकी २८ वटा एयरलाइन्सहरूले आफ्नो सेड्युल परिवर्तन गर्न अस्वीकार गरिदिएका छन् ।
विमानस्थल कार्यलयले सवै एयरलाइन्स कम्पनीहरूलाई रातमा उडान भर्ने सेड्युल बनाउन आग्रह गरेको थियो । तर, कतार एयरवेजबाहेक कुनै पनि एयरलाइन्सले रातमा उडान भर्न चासो नदिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २१ घन्टा विमानस्थल सञ्चालनलाई आफ्नो प्रतिष्ठाका रूपमा अघि बढाए पनि त्यो कामयावी भने हुने देखिएन ।
विमानस्थलमा हुने चापलाई कटौती गर्न भन्दै २१ घन्टा सञ्चालन गरे पनि एयरलाइन्सहरूले अटेर गरेपछि ३ घन्टा थप गरिएको अवधि विमानस्थलका लागि बिजनेसविहीन भएको छ । “अहिले एयरलाइन्सहरूले रात्रिमा उडान भर्न नमाने पनि धावन मार्ग पुननिर्माणपछि २४ सै घन्टा सञ्चालन गर्नेछौं,” विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने ।
धावनमार्ग निर्माणको समयमा १० घन्टा विमानस्थल बन्द गर्ने भएकोले पनि अहिले रात्रिको उडानमा एयरलाइन्सहरूले चासो नदिएको हुनसक्ने क्षेत्रीको तर्क छ । विमानस्थलमा विहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चाप भए पनि अन्यमा समय खाली भएकाले सेड्युल नमिलाएको आरोप लाग्दै आएको छ ।
विमानस्थल अहिले विहान ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन भएकोमा गत जेठ ७ गतेदेखि विहान ३ बजेसम्मै सञ्चालन हुँदै आएको छ । २१ घन्टा सञ्चालन भए पनि तीन सिफ्टमै विमानस्थल सञ्चालन गरिँदै आएको छ । तेस्रो सिफ्टका कर्मचारीहरूले थप तीन घन्टा चलाउँदै आएका छन् । अहिले भनेको उडान ढिलाई गर्ने एयरलाइन्स कम्पनीहरूलाई मात्रै फाइदा हुने गरेको छ ।
रातिमा काम गर्ने सबैलाई भत्ता र ओभरटाइमको व्यवस्था गरिएको छ । उक्त व्यवस्थाले विमानस्थलको खर्चमात्रै बढाएको छ । तीन घन्टाको आम्दानी भने बढ्न सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गर्दै नयाँ बनाउने जिम्मा चाइना यरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । धावनमार्गको कालोपत्रे विस्थापनका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट ५ कम्पनी प्राविधिक छनोटमा परेका थिए । धावनमार्गको ५० वर्ष पुरानो कालोपत्रे विस्थापन गरी नयाँ राखेपश्चात विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । कालोपत्रे विस्थापनको अवधिभर विमानस्थल १० घन्टा बन्द हुने महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । निर्माण कम्पनीले ४९ दिनमा सम्पन्न गर्ने भनेपनि प्राधिकरणले भने ७० दिनसम्मको समय दिएको छ । निर्माणको समयमा विहान ८ बजेदेखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल संचालन हुने उनले जानकारी दिए ।