एकता भाँडिएपछि राप्रपामा आरोप–प्रत्यारोप

होमल्याण्ड खबर

२०७५ कार्तिक २८ गते, बुधबार १४:४६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीचको एकता प्रक्रिया भाँडिएपछि आरोप–प्रत्यारोप भएको छ । एकता प्रक्रिया पूरा हुने बताइए पनि अन्तिम समयमा आएर दुई पार्टीबीच एकता प्रक्रिया बिथोलिएको थियो ।

यसरी एकता नहुनुमा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपाका अध्यक्ष कमल थापाले एकअर्कालाई दोष देखाएका छन् । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले थापाले पार्टी एकता भाँडेको आरोप थापालाई लगाएका छन् । परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर उनले गरे । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले नमानेको राणाले बताए ।

तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने तर्क गरे । एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए । कमल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए । “तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिँदैन । गाईलाई चुनाव चिन्ह मान्न म सक्दिन,” राणाले भने ।

थापाले भने राणाको भनाइको खण्डन गर्दै ट्वीट गरेका छन् । ‘पशुपतिजीको अभिव्यक्ति गलत र एकताको भावना विपरीत छ । राजसंस्थाबारे स्पष्ट प्रतिबद्धता र हिन्दूत्वको प्रतीक गाई चुनाव चिन्ह एकताको न्यूनतम सर्त भन्ने उहाँले बुझ्नुपर्छ । उहाँको भनाइबाट स्पष्ट हुन्छ, एकता किन र कसले बिथोल्यो ? आरोप–प्रत्यारोप होइन, लाखौं पार्टी कार्यकर्ताको भावनाको सम्मान गरौं,’ उनले राणाको आरोपको खण्डन गर्दै ट्वीटरमा लेखेका छन् ।

पूर्वपञ्चहरुको पार्टीका रूपमा चिनिने राप्रपामा पटक–पटक एकता र विग्रह हुँदै आएको छ । राजसंस्थाको विषयमा राप्रपा पछिल्लो समय केही लचक देखिएको थियो । राणा नेतृत्वको तत्कालिन राप्रपाले त गणतन्त्र पहिले नै स्विकार गरिसकेको थियो । त्यस्तै चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेमा पनि कुरा नमिलेको राप्रपा नेताहरुले जनाएका छन् । राप्रपाबाट अलग्गिएको अर्को घटक राप्रपा राष्ट्रवादीसँग पनि राप्रपाले एकताका लागि छलफल गरिरहेको छ ।