नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई गगन समूहले बुझायो ज्ञापनपत्र

होमल्याण्ड खबर

२०८० फाल्गुन १५ गते, मंगलवार १५:२० मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । थापा निकट नेविसंघ केन्दीय सदस्य बिजय ढुंगानाको नेतृत्वको टोलीले मंगलबार अध्यक्ष शेर्पालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाले नेविसंघको प्रथम केन्द्रीय समिति बैठक बोलाएका थिए ।

तर आन्तरिक विवादले केन्द्रीय समिति बैठक अनिश्चित छ । सहमतिका लागि थापा समूहले सङ्गठनभित्र विधि, विधान र पार्टीको निर्णय विपरीत भएका मनोनयन र नियुक्तिको खारेजीको माग गरेको छ । यस्तै कार्यसम्पादन समिति लगायत विभाग तथा समितिको गठन र स्वरूपका विषयमा छलफल हुनपर्ने उनीहरुको माग छ ।

नेविसंघको विधान संशोधन एवं परिमार्जन, केन्द्रीय निर्वाचन समिति र महाधिवेशनको मिति र कार्यतालिकाबारे अध्यक्षको ध्यानाकर्षण गराएको ढुंगानाले बताए । नेविसंघको कार्यक्रम, अभियान, बैठकको प्रक्रिया र तालिका तथा प्रस्तुत हुने प्रतिवेदन समेत बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यलाई बैठक सुरु हुनु पूर्व उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।