माधवमाथि ओलीको व्यंग्य- राष्ट्रिय पार्टी बनाउन नसकेको ब्यक्ति प्रधानमन्त्री बन्छु भन्दै हिँडेको छ

होमल्याण्ड खबर

२०८० फाल्गुन १८ गते, शुक्रबार १७:१० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिँदैन : अध्यक्ष ओली
बिहीबारदेखि काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्‍मा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको बताएका हुन् ।

संसद्‍मा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको ओलीको भनाइ छ । उनले राष्ट्रिय पार्टी नबनेको पार्टीको मानिस प्रधानमन्त्री बन्छु भन्दै हिँडेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति व्यंग्य गरे । उनले नेकपा एमाले जिम्मेवारी र इतिहास बोकेको पार्टी भएको बताउँदै देश बनाउने भिजन बोकेको संस्था रहेको बताए ।

‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन । यहाँ त संसद्‍मा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ,’ओलीले भने ।